२०७९ आश्विन २० बिहीबार

अफ्रिदीको घोषणा : नेपाली टिमलाई पाकिस्तान बोलाएर क्रिकेट खेलाउन पहल गर्छु ।

काठमाडौं : पाकिस्तानका पूर्वक्रिकेट कप्तान शाहीद अफ्रिदीले नेपाली क्रिकेट टीमलाई पाकिस्तान लगेर क्रिकेट खेलाउन पहल गर्ने बताएका छन् । काठमाडौंमा आइतबार न्यूज एजेन्सी नेपालसँगको अन्तर्वार्तामा अफ्रिदीले नेपाल र पाकिस्तानका

जनतालाई जोड्न क्रिकेट कुटनीति आवश्यक रहेको बताए ।
अफ्रिदीले क्रिकेटकै माध्यमबाट नेपाल र पाकिस्तानको सम्बन्ध अझ बलियो बनाउन सकिने बताए । ‘म यहाँ रहँदा जति मानिसहरुसँग भेट भयो मेरो लागि अविश्मरणीय रह्यो । नेपाल र पाकिस्तानलाई क्रिकेट कुटनीतिले जोड्न चाहन्छु ।

पाकिस्तान पुगेर मैले नेपाली टोलीलाई खेल्न आमन्त्रण गर्छु । यसलाई नेपालस्थित पाकिस्तान दूतावास र नेपाल सरकारले सहजीकरण गर्नेछन्’ उनले भने । आफूले केही नेपाली खेल अधिकारीलाई पाकिस्तान भ्रमणको निम्तो दिएको पनि बताए । ‘तीन दिनको बसाइको क्रममा नेपालीहरुमा क्रिकेट प्रतिको लगाव निकै पाएको छु ।

क्रिकेटसँगको लगाव सँगैसँगै पाकिस्तानी क्रिकेट टोलीलाई माया गर्ने नेपालीहरु पाएको छु’ उनले भने, ‘मैले केही नेपाली खेल अधिकारीहरुलाई पाकिस्तान भ्रमणको निम्तो दिएको छु । म पाकिस्तान पुगेर उहाँहरुलाई स्वागत गर्नेछु ।’

नेपाली क्रिकेटको विकासका लागि तल्लो तह ग्रास रुट लेबलदेखि ध्यान दिनुपर्ने अफ्रिदीले बताए । नेपाली क्रिकेटको भविष्य निकै राम्रो रहेको र सरकारले विशेष ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ।

त्यसका लागि सहयोग गर्नुपर्ने उनको भनाइ छ । ‘सरकारको सहयोग मिलेको अवस्थामा क्रिकेट एकेडेमी सञ्चालन गर्न सम्भव हुन्छ, खेलाडीहरुलाई सुविधा मिल्छ । सबै भन्दा राम्रो पक्ष भनेको नेपाल सरकार क्रिकेट प्रति सकारात्मक छ’ उनले भने ।

कुनै समय पाकिस्तानको १९ वर्ष मुनिको टिमलाई नेपाली टिमले हराएको प्रसंग उल्लेख गर्दै अफ्रिदीले नेपाली क्रिकेट टिमलाई आफूले सक्दो सहयोग गर्ने बताए।

अफ्रिदी एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिता खेल्न नेपाल आएका हुन्। उनी काठमाडौं किंग्स ११ मा आबद्ध छन्। शनिबार भएको उद्घाटन खेलमा अफ्रिदीले काठमाडौंका लागि बलिङ गरेका थिए। त्रिवि मैदानमा चार ओभर बलिङ गरे पनि उनले विकेट लिन भने सकेनन्।

२०७८ आश्विन १२, मंगलवार १०:१५ गते 1 Minute 177 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई yuwaaw[email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।