२०७९ आश्विन २० बिहीबार

काठमाडौंको झिलिमिली हेर्न कुलमान जब चन्द्रागिरि पुगे !

काठमाडौ : नेपाल विद्युत् प्राधिकरणको संचालक समितिका तीन सदस्यसहित चन्द्रागिरि पुगेका प्रबन्ध निर्देशक कुलमानको ‘तिहारमा काठमाडौं कस्तो देखिने रहेछ ?’ भनी अवलोकन गर्ने योजना रहेछ ।

चिसो स्याँठ चलिरहेको औंसीको रातमा कुलमान गुपचुप २५ सय मिटर उचाईको चन्द्रागिरिबाट डाँडाभन्दा ११ सय मिटर मुनिको (१४ सय मिचर उचाईमा फैलिएको) काठमाडौं उपत्यकाको उज्यालो नियालिरहेका थिए ।चन्द्रागिरिबाट काठमाडौं, भक्तपुर र ललितपुरको झिलिमिलि देखिन्थ्यो ।

तर, सडक देखिएन । डाँडाबाट भक्तपुर–सूर्यविनायक सडक, नैकाप–कलंकी सडक, काठमाडौं विमानस्थल र स्वयम्भू–वनस्थली सडकमात्रै प्रस्ट देखिरहेको थियो । त्यो पनि सडकमा गुडिरहेका गाडीको उज्यालोले ।‘स्ट्रिट–लाइट नभएकाले सडकहरु देखिएनन्,’ कुलमानले सहर अवलोकन गर्दै भने ।

उज्यालोकै कारण धरहरा देखियो । उनलाई उज्यालो काठमाडौंको फोटो खिच्ने रहर थियो । तर, मोबाइलको ब्याट्री सकिएकाले उनले अन्य सहयात्रीको मोबाइलबाट ‘पछि फोटो पठाइदिने सर्तमा’ फोटो खिचे– खिचाए ।०७३ को लक्ष्मी पूजाको दिन विद्युत् प्राधिकरणले ‘अब लोडसेडिङ हुँदैन’ भनेर घोषणा गरेयता देश लोडसेडिङ मुक्त भयो ।

यसबीच उनी आफ्नो पहिलो कार्यकालमा दुईपटक काठमाडौंको उज्यालो हेर्न उपत्यकाका दुईटा अग्ला डाँडा उक्लिएका रहेछन् ।‘एक पटक स्वयम्भूपारीको डाँडाबाट तिहारको उज्यालो हेरेको छु,’ उनले भने, ‘परार यही डाँडाबाट हेरेको थिएँ ।’ साउनमा प्राधिकरणमा दोस्रोपटक प्रबन्ध निर्देशक भई आएका कुलमानको यो यात्रा यसपटक पहिलो थियो ।

अहिले नेपालमा दिउँसो २ सय र राति ४ सय मेगावाट हाराहारी विद्युत् खेर गइरहेको छ । कागतिहारको दिन नेपालले भारतसँग उर्जा व्यापार सुरु गरेकोको तेस्रो दिन कुलमानले ६ वर्षको काठमाडौं चन्द्रागिरि डाँडाबाट सम्झिँदै भने, ‘लोडसेडिङका बेला एक भाग अँध्यारो हुन्थ्यो ।

अर्को भाग उज्यालो हुन्थ्यो ।’उनले यति भनेपछि चन्द्रागिरि रिसोर्टको आगनमा रमाइरहेका स–साना केटाकेटीसँग भेट भयो । केटाकेटीहरुले कुलमानलाई नमस्ते अभिवादन गरे । उनीसँगै आएका एक जना सञ्चालक समितिका सदस्यले केटाकेटीहरुलाई प्रश्न गरे, ‘तिमीहरुले कुलमान सरलाई चिनेका छौं ?’

६–७ वर्ष हाराहारीका केटाकेटीले ‘चिन्दैनौं’ भनेपछि हाँसो गुन्जियो । भीडबाट कसैले भने, ‘यीहरु जन्मिँदा नेपालमा लोडसेडिङ नै हटिसकेको थियो । कसरी चिन्नु कुलमान सरलाई ।’फेरि सबै जना हाँसे ।

तिहारको बेला रिसोर्टमा बास बस्न पुगेका आन्तरिक पर्यटकहरुको भीडमा कुलमान घिसिङ फोटो सेसन गर्न थाले । यो क्रम चलिरह्यो । धेरैले लोडसेडिङ मुक्त गरेका कुलमानलाई आदरका साथ तिहारको शुभकामना र उज्यालो बनाउने अभियान्तका रुपमा सम्मान प्रकट गरिरहे ।कान्तिपुर

२०७८ कार्तिक २०, शनिबार १८:०८ गते 0 Minutes 251 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।