
काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङ भारतको शीर्ष डिभिजन लिगमा उत्कृष्ट गोलकिपर बनेका छन् ।पन्जाब एफसीबाट यस सिजनको आई लिग खेलेका किरण उत्कृष्ट बनेका हुन् ।
शनिबार सकिएको आई लिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका हुन् । तर, आई लिगको समापन समारोहमा किरणको उपस्थिति रहन सकेन । उनी लिगको एक खेल बाँकी रहदै नेपाल फर्किएका थिए ।
उत्कृष्ट गोलकिपर बनेसँगै किरणले २ लाख ५० हजार रुपैयाँ प्राप्त गरेका छन् । आई लिगको उपाधि भने गोकुलम केरेलाले जितेको छ । एन्फाले आयोजना गरेको थ्री नेसन्स कप फुटबलका लागि किरण खेल सकिनुअघि नै नेपाल फर्किएका हुन् ।
थ्री नेसन्स फुटबलमा नेपाल, बंगलादेश र किर्गिस्तान सहभागी छन् । जसको फाइनलमा नेपाल र बंगलादेश पुगेका छन् । किर्गिस्तान बाहिरिएको छ ।
अन्तर्राष्ट्रिय फुटबलमा नेपालकाे नयाँ इतिहास, फाइनल प्रवेश
अन्तर्राष्ट्रिय फुटबलमा नेपालले नयाँ इतिहास राखेको छ । कुनै पनि गोल नगरी नेपाल पहिलोपटक अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ ।
शनिबार साँझ त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा थ्री नेसन्स कपको समूह चरणको अन्तिम खेलमा नेपाल र बंगलादेशबीचले गोलरहित बराबरी खेलेसँगै नेपाल एक गोल पनि नगरी फाइनल प्रवेश गरेको हो । दुवै पक्षले गोलका राम्रा अवसर पाए पनि अंकमा रुपान्तरण गर्न सकेनन् ।
अब नेपालले सोमबार हुने फाइनल खेलमा बंगलादेश सँगै नै प्रतिस्पर्धा गर्नेछ । नेपाल अंकतालिकाको दोस्रो स्थानमा रहँदै फाइनलमा प्रवेश गरेको हो ।
दुई खेलमा दुई अंक जोडेको नेपालले समान दुई खेलबाट ४ अंक जोडेको बंगलादेशसँग खेल्न लागेको हो । नेपालले बिहीबार कीर्गिस्तानसँग पनि गोलरहित बराबरी खेलेको थियो । कीर्गिस्तान भने प्रतियोगिताबाट बाहिरिएको छ ।-ताजा खबर टिभि
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।