आइतबार , साउन १०, २०७८

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माण – अहिलेसम्म कति रकम उठ्यो ? कति बाँकी ? पूरा विबरण सहित ।

चैत्र १२, २०७७ बिहिबार 1244

चितवन: गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको कामको अनुगमनमा निरन्तर खटिरहने धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुस आर्थिक संकट बढ्दै गएपछि मेची–महाकाली अभियानमा निस्किएका छन् ।

सोमबार बिहान रंगशालामा काम गर्ने मजदुरहरूले टीका, फूलमालासहित चार हजार चार सय पाँच रुपैयाँ सहयोग गरेर उनलाई बिदाइ गरे ।

अभियान महाकालीबाट सुरु भई कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सुर्खेत, कपिलवस्तु, रूपन्देही, परासी, नवलपुर र चितवनसम्म आउनेछ । रंगशालामा केही समय रोकिएपछि फेरि पूर्वी जिल्लाको अभियान सुरु हुनेछ । फाउन्डेसनकी उपाध्यक्ष कुञ्जना घिमिरे सुन्तली भने निर्माणस्थलमै रहेर व्यवस्थापनमा सक्रिय रहनेछिन् ।

क्रिकेट रंगशाला भरतपुर महानगरपालिका–१५, रामपुरमा निर्माण भइरहेको छ । डिपिआरअनुसार तीन अर्ब ५५ करोड रुपैयाँ खर्च अनुमान गरिएको रंगशाला निर्माणको झन्डै ३३ करोड रुपैयाँ संकलन भएको छ ।

हालसम्म ४४ करोडभन्दा बढी रकम खर्च भएको फाउन्डेसनले जनाएको छ । ५० करोड कबोल रकम उठ्न बाँकी छ । फाउन्डेसन अहिले करिब १२ करोड ऋणमा छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि गत वर्षको १९ देखि २६ माघसम्म धनधान्याचल महोत्सवसमेत आयोजना गरिएको थियो । महोत्सवमा नेपाल सरकारका विभिन्न निकाय, संविधानसभा सदस्य, प्रदेश सभा सदस्य, प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभाका सांसद, व्यापारी, निर्माण व्यवसायीदेखि अस्पताल तथा मेडिकल कलेज सञ्चालकलगायतले घोषणा गरेको रकम अझै नदिएको कट्टेलले बताए ।

रंगशालामा महिनौँदेखि उधारोमा काम गर्दै आएको र पैसा तिर्न नसकेपछि मेची–महाकाली अभियान सुरु गरेको उनले बताए । ‘सहयोगको क्रम अपेक्षाअनुसार नबढ्दा उधारो बढेको बढ्यै भयो,’ कट्टेलले भने, ‘रंगशाला बनाउन भनी बोलकबोल भएका रकमसमेत नपाएपछि आर्थिक संकट आइलाग्यो, त्यसैले यो अभियान सुरु गरेको हुँ ।’

नेपालले क्रिकेटमा एकदिवसीय खेलको मान्यता पाएसँगै स्तरीय अन्तर्राष्ट्रिय रंगशालाको माग भएपछि देशविदेशमा रहेका नेपालीसँग सहयोग जुटाएर भूकम्पपछि बस्ती पुनर्निर्माणको अनुभव बटुलेको धुर्मुस–सुन्तली फाउन्डेसनले साढे तीन अर्ब लागतमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन जुटेको थियो ।

एकीकृत बस्ती निर्माण गर्दाजस्तै सहयोग जुट्ने अपेक्षा फाउन्डेसनले गरेको थियो । तर, त्यसअनुसार सहयोग रकम जुटेको छैन । ‘देश–विदेशका नेपालीबाट सहयोग जुटाउने अभियानमा कोरोना कहरले बाधा पुर्‍याएको छ,’ कट्टेलले भने, ‘बोलेको रकम प्राप्त नहुँदा धेरै नै तनाव सिर्जना भएको छ ।’

भरतपुर र चितवनको मुख्य बजार क्षेत्र नारायणगढबाट पश्चिम आठ किलोमिटर दूरी पार गरेपछि रंगशाला निर्माणस्थल पुगिन्छ । काठमाडौं, मकवानपुर, रूपन्देही, दाङ, कास्की, मोरङ हुँदै झापासम्म रंगशालाका लागि जमिन खोज्न पुगेका कट्टेललाई त्रिभुवन विश्वविद्यालयको नाममा रहेको र कृषि तथा वनविज्ञान विश्वविद्यालयले भोगचलन गर्दै आएको जग्गा प्राप्त भएको थियो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालयले रंगशाला निर्माणका लागि भरतपुर महानगरपालिकाको अग्रसरतामा अन्यत्रको जमिन सट्टाभर्ना गर्ने गरी २० बिघा ६ कट्ठा जमिन उपलब्ध गराएको थियो । निर्माण सुरु गरेको दुई वर्षभित्र रंगशाला तयार गर्ने फाउन्डेसनको लक्ष्य थियो । तर, कोरोना महामारी र स्थानीयसँगको जग्गा विवादले रंगशालाको काममा अवरोध उत्पन्न भएको थियो । अहिले दैनिक दुई सयभन्दा बढी कामदार रंगाशाला निर्माणमा खटिएका छन् ।

डिपिआरअनुसार रंगशाला एक लाख ५४ हजार पाँच सय ६ वर्गमिटरमा कमलको फूल आकारको संरचनामा बन्नेछ । रंगशालाको प्रवेशमै पानीमाथि गौतम बुद्धको ठूलो आकारको मूर्ति देखिनेछ । वरिपरि नेपालको पहिचान झल्कने जनावरसमेत रहनेछन् । झ्यालढोकामा मल्लकालीन कला झल्कनेछ ।

क्रिकेट खेललाई प्राथमिकतामा राखी पाँच पिच हुनेछन् । ३० हजार दर्शक अट्ने क्रिकेट रंगशालासहित अन्य खेलहरू पनि गर्न मिल्ने बहुउद्देश्यीय रंगशाला बन्दै छ । ‘म आत्मविश्वासले काम गर्दै आएको मान्छे हुँ । यो इमान्दारीको यात्रा हो । हामी देश विकासमा सबै पक्ष एकढिक्का भयौँ भने देश विकासको गतिमा अघि बढ्छ । सबै नेपालीको साथ हुने हिसाबले धुर्मुस सुन्तलीले आँट गरेका हुन् । यसका अभियन्ता सबै नेपाली हुनुहुन्छ,’ कट्टेलले भने ।

मेची–महाकाली अभियान किन सुरु गर्नुभएको हो ?

रंगशाला उधारोमा बनिरहेको छ । रंगशालाका लागि बोलकबोल भएको रकम पनि उठ्न सकेको छैन । प्रधानमन्त्री, सांसदसहित विभिन्न दलका नेताहरूको उपस्थितिमा सहयोगमा यो अभियान घोषणा गरिएको थियो । विश्वासकै आधारमा उधारोमा सामान ल्याउँदै काम गर्दै गयौँ । अहिले फाउन्डेसनको खातामा पैसा छैन । बजारमा उधारो रकम तिर्नुपर्ने धेरै छ । बिहान उठेदेखि सुत्नुअघिसम्म उधारोको विषयमा मात्रै फोन आउँछ ।

बोलकबोल गरिएको रकम समयमै उठ्ला भनेर एक महिनाभित्रैमा तिर्छौं भनी ल्याइएको सामानको पैसा एक वर्षसम्म पनि तिर्न सकिएको छैन । पछिल्ला दिनमा तुरून्तै पैसा देऊ भनेर धम्क्याउने, थर्काउने शैलीमा पनि फोन आउने गरेको छ । हामीले समयमै तिर्नुपर्ने हो, तर उठ्नुपर्ने रकम नउठेका कारण केही समय अझै पर्खनुप¥यो भनेर सम्झाउने गरेका छौँ । एउटै व्यवसायीसँग साढे तीन करोड रुपैयाँसम्मको सामग्री उधारोमा ल्याइएको छ । गत दसैँमा कामदारलाई ज्याला दिन नसक्दा आफ्नो र कर्मचारीको नाममा सहकारीबाट ऋणसमेत लिएँ ।

रंगशाला निर्माणमा सहयोग पुगोस् भनेर महायज्ञ पनि लगाइएको थियो । ‘दिन्छु’ भनेर घोषणा भएको आर्थिक सहयोग अझै उठ्न सकेको छैन । आर्थिक संकट परेकाले सहयोग जुटाउन यो अभियान सुरु गरेका हौँ । कञ्चनपुरको महाकाली नदीको किनारबाट यो अभियान सुरु भएको छ ।

रंगशाला निर्माण सुरु गर्नुभएको दुई वर्ष बितिसक्यो, कति काम सकियो ?

रंगशालामा अहिले स्ट्यान्ड ए र बी २८६ वटा पिल्लर उठिसकेका छन् । प्लिन्थ बिममाथिको पिल्लरको ढलान हुँदै छ । नयाँ वर्षमा तीन हजार दर्शक बसेर हेर्न मिल्ने पहिलो चरणको प्यारापिट तयार हुन्छ ।

त्यसवेलासम्म खेल मैदानमा दुबो रोप्नेबाहेकका अरू सबै काम पूर्ण हुनेछ । समग्र संरचनाको तीस प्रतिशत काम भएको छ । अभावका बीच पनि छोटो समयमा धेरै काम भएको छ ।

हामीले गत १ साउनबाट जग हाल्न सुरु गरेका थियौँ । अहिले रंगशालाको आकार मात्र होइन, वैशाखसम्ममा स्थापित अन्तर्राष्ट्रियस्तरको खेल मैदान भने बन्नेछ । यो समाचार नयाँ पत्रिका दैनिकबाट लिइएको हो।

प्रतिकृया दिनुहोस्