शनिबार , जेठ २९, २०७८

देशकै सबैभन्दा ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी ‘आइएमइ’ ले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने !

चैत्र १५, २०७७ आइतबार 316

काठमाडौ : देशकै सबैभन्दा पूरानो र ठूलो रेमिट्यान्स सेवा प्रदायक कम्पनी इन्टरनेशनल मनि एक्सप्रेस (आइएमइ) ले सर्वसाधारणका लागि सेयर जारी गर्ने भएको छ ।

आइपीओ निष्काशन गर्नका लागि प्रक्रिया शुरु गरिएको आइएमइका प्रवन्ध निर्देशक हेमराज ढकालले जानकारी दिए । आगामी आर्थिक वर्ष २०७८/७९ भित्र आइपीओ जारी गर्ने गरी काम अघि बढाइएको उनले बताए ।

आगामी आर्थिक वर्षभित्रै आइपीओ जारी गर्ने गरी काम गरिरहेका छौं,’ ढकालले क्लिकमाण्डूसँग भने । ढकालका अनुसार आइपीओ संभवत बुक बिडिङ विधिमार्फत् निष्काशन हुनेछ । बुक बिडिङ प्रणालीमार्फत आइपीओ जारी गर्दा १०० रुपैयाँमा किन्न पाइँदैन ।

हाल आइएमइको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । कम्तिमा १० देखि ३० प्रतिशतसम्म आइपीओ निष्काशन गर्ने ढकालले सुनाए । ‘कम्तिमा १० देखि बढीमा ३० प्रतिशतसम्म आइपीओ निष्काशन गर्छौं,’ ढकालले भने ।

आइएमइले २० वर्षदेखि रेमिट्यान्स सेवा प्रदायकको काम गर्दै आएको छ । ३ वर्षअघि पब्लिक कम्पनीमा रुपान्तरण भइसकेको आइएमइ नेपालकै ठूलो र लोकप्रिय कम्पनी हो । धेरै डलर भित्र्याएको भन्दै सरकारले आइएमइलाई सीआइपी सम्मानबाट सम्मानित गरिसकेको छ ।

आइएमइले वार्षिक ३ खर्ब रुपैयाँको हाराहारीमा विदेशबाट नेपाल रेमिट्यान्स भित्र्याउँदै आएको छ । आइएमइ ग्रुपले आफ्नो लगानीमा भएका निजी कम्पनीहरुलाई धमाधम पब्लिक कम्पनीमा रुपान्तरण गर्दै आइपीओ जारी गरिरहेको छ ।

व्यवसायलाई पारदर्शी र उत्तरदायी बनाउने रणनीतिअनुसार निजी कम्पनीलाई पब्लिक बनाइएको ढकालले जानकारी दिए । आफूहरुले आफ्नो मात्रै फाइदा नहेरेर आम सर्वसाधारणलाई स्वामित्व र नाफा बाँड्ने मोडालिटीमा बिजनेश अघि बढाउने रणनीति अनुसार काम गरिरहेको ढकालले जानकारी दिए ।
कुनै पनि ब्यवसायमा आम सर्वसाधारणको अपनत्व भयो भने

सबैको हित मात्रै हुँदैन, त्यो बिजनेशको पनि ग्रोथ हुन्छ,’ उनले भने, ‘हामी हजारौं सर्वसाधारणलाई कम्पनीको मालिक बनाएर उहाँहरु सँगसँगै अघि बढ्न चाहन्छौं । ३ दशकअघि देख शुरु भएको आइएमइ ग्रुप अहिले नेपालका केही ठूला व्यापारिक घरानामध्येको एक हो ।

छोटो समयमै उल्लेख्य प्रगति गरेको यो समूहले अहिलेसम्म हात हालेका क्षेत्रमा सफलता मात्रै हासिल गरेको छ । आइएमइ ग्रुपको अध्यक्षमा व्यवसायी चन्द्र ढकाल छन् । ढकाल निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष हुन् ।

प्रतिकृया दिनुहोस्