शनिबार , जेठ २९, २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोखरेलले दिए राजीनामा !

बैसाख १९, २०७८ आइतबार 155

बुटवल : लुम्बिनी प्रदेश मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिनुभएकाे छ । प्रदेशमा नयाँ सरकार बनाउने मार्ग प्रशस्त गर्न राजीनामा दिनुभएकाे हाे ।

मुख्यमन्त्री पोखरेलले केहीबेर अघि प्रदेश प्रमुख धर्मनाथ यादवलाई भेटेर राजीनामा दिएको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ । प्रदेश सरकार गठन हुँदाको अहिलेको कानूनी परिस्थिति फरक भएकोले नयाँ सरकार गठन गर्न मार्ग प्रशस्त गर्ने उद्देश्यले पोखरेलले राजीनामा दिएको बताइएको छ ।

मुख्यमन्त्री पोखरेलका विरुद्ध गत वैशाख ६ गते प्रदेश सभा सचिवालयमा नेपाली कांग्रेस, माओवादी र जसपाका ५ नेतासहित ४१ जनाले अविश्वास प्रस्ताव दर्ता गरेका थिए । उक्त प्रस्ताव अाज बस्ने प्रदेश सभा बैठक (विशेष अधिवेशन)मा पेश गरिने र छलफलपछि पारित गरिने कार्यसूची रहेकाे थियाे । तर अविश्वास प्रस्तावमाथि छलफल नहुँदै मुख्यमन्त्रीले पद छाड्नुभएकाे हाे ।

अविश्वास प्रस्तावमा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका ४१ सांसदले हस्ताक्षर गरेका थिए । तर हस्ताक्षर गरेकामध्ये जनता समाजवादीका ३ सांसद भने मन्त्री बनिसकेका छन् ।

दाङ २ (क) बाट चुनाव जितेका पोखरेल २०७४ फागुन ३ गते मुख्यमन्त्री बन्नु भएकाे थियाे । २०७४ मा प्रदेश सरकार बनेपछि पहिलो पटक मुख्यमन्त्री पोखरेलको सरकार ढलेको हो। पोखरेल एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र हुन् ।

यसअघि कर्णाली प्रदेशमा एमालेकै ४ सांसदले फ्लोर क्रस गरेपछि माओवादी केन्द्रका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको पद सुरक्षित बनेको थियो । लुम्बिनीमा पनि सोही क्रम दोहोरिनसक्ने सम्भावना कायमै थियाे । साेही कारण पनि हुन सक्छ मुख्यमन्त्रीले अविश्वास प्रस्ताव टेबुल नहुँदै राजीनामा दिनुभयाे ।

प्रतिकृया दिनुहोस्