२०७८ कार्तिक ११ बिहीबार

२० बर्ष अगाडि नेपाल र इराकबिचको त्यो खेल… जसले नेपाली फुटबललाई बिश्वमै चिनायो ।

काठमाडौं : सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) मैत्रीपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ ।

यो खेल इराकको बसरास्थित अल फयहा अन्तर्राष्ट्रिय मैदानमा नेपाली समय अनुसार राति सवा दश बजे देखि सुरु हुनेछ । ईराकको फुटबल एशोशियशनले कोरोनाको महामारीका समयमा पनि नेपाललाई मैत्रीपूर्ण खेल खेल्न आमन्त्रण गरेको थियो।

नेपालको यो टोलीलाई इराकजस्तो बलियो टोलीसँगको प्रतिस्पर्धा पक्कै पनि मुस्किल हुनेछ । नेपाललले २० वर्षपछि पहिलो पटक इराकसँग मैत्रिपूर्ण फुटबल खेल्दैछ । नेपाल र इराकबीच पहिलो भेट सन् १९८२ नोभेम्बर २३ तारिखमा भएको थियो । एसियाली खेलकुदमा भएको भेटमा नेपाल इराकसँग ३–० गोल अन्तरले पराजित भएको थियो ।

सन् २००१ अप्रिल १४ मा भएको दोस्रो भेटमा इराकले ९–१ को जित निकालेको थियो । नेपालको लागि एक मात्रै गोल निराजन रायमाझीले गरेका थिए । सन् २००२ को विश्वकप छनोटमा नेपाल इराकसँग ४–२ गोल अन्तरले पराजित भएको थियो ।

हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए ।
२० वर्षअघि आफ्नै कारणले नेपाली टिमले घरेलु मैदानमा इराकसँग खेल्ने अवसर गुमाएको थियो। यद्यपी सो भ्रमण नेपाली फुटबलका लागि सम्झनलायक बन्यो। किनभने २० वर्षअघि को सो भ्रमणका दौरान नेपाली टिमले विश्वकप

छनोटमा पहिलो जित मात्र निकालेन पहिलो ह्याट्रिक गर्ने इतिहास पनि बनायो।सन् २००२ विश्वकपका लागि छनोट प्रतियोगितामा नेपाल समूह-६ मा परेको थियो। सो समूहमा नेपालसहित इराक, काजकिस्तान र मकाउ थिए। नेपालले सुरुवाती तीन खेल बगदाद र त्यसपछिका तीन खेल काजस्तानमा खेल्यो।

नेपालले काजकिस्तानविरुद्धको पहिलो खेल ६-० ले गुमाएको थियो। दोस्रो खेलमा नेपाललाई घरेलु टिम इराकले ९-१ गोलले पराजित गर्‍यो। बगदादमा भएको खेलमा नेपालका लागि निराजन रायमाझीले गोल गरेका थिए।

बगदादमै भएको तेस्रो खेलमा भने नेपालले मकाउलाई ४-१ गोलले पराजित गर्‍यो। १६ अप्रिल २००१ मा इराकको बगदादमा भएको खेलमा हात पारेको सो जित नै नेपालले विश्वकप छनोटमा हात पारेको पहिलो जित हो। नेपालका लागि निराजन रायमाझीले १८ र ६१ मिनेटमा गोल गरेका थिए।

यस्तै बसन्त थापाले ३१ र हरि खड्काले ७४ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए।त्यसपछिका तीन खेल काजकिस्तानमा भए। जसमा पहिलो खेलमा नेपाललाई घरेलु टिम काजकिस्तानले ४-० गोलले पराजित गरेको थियो। यस्तै इराकले नेपालमाथि ४-२ को जित निकाल्यो।

नेपालका लागि हरि खड्का र निराजन रायमाझीले गोल गरेका थिए। नेपालका लागि निराजन रायमाझीले मकाउविरुद्ध ह्याट्रिक गरेका थिए। उनी विश्वकप छनोटमा नेपालका लागि पहिलो ह्याट्रिक गर्ने खेलाडी बने। उनले खेलको ३८, ४९ र ५६ मिनेटमा गोल गरेका थिए।-ताजा खबर टिभि

२०७८ जेष्ठ १७, सोमबार ०५:४८ गते 1 Minute 557 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार