शनिबार , जेठ २९, २०७८

ओलि सरकारले ह्वात्तै बढायो खेलकुदमा बजेट ! अब देशैभरी रंगशाला नै रंगशाला ।

जेठ १७, २०७८ सोमबार 289

काठमाडौँ : सरकारले आर्थिक वर्ष २०७८/७९ लागि युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ७४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शनिबार अध्यादेशमार्फत नयाँ आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री बिष्णु पौडेलले समूदाय स्तरबाटै खेलकुदलाई प्रोत्साहन गर्न, पूर्वाधार निर्माण र प्रतिभावान खेलाडीको पहिचान गर्न बजेट बिनियोजन गरिएको बताए ।

झापामा मदन भण्डारी रंगशाला निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने मूलपानी, लमही लगाएतका क्रिकेट रंगशालाका लागि पनि बजेट छुट्याएको अर्थमन्त्री पौडेलले बताए । यसैगरी पोखरा रंगशाला निर्माण कार्य पुरा गरिने र खेल क्षेत्रबाट बिदा भएका खेलाडीहरुलाई सहुलियतमा

ऋण उपलव्ध गराउने मन्त्री पौडेलले बताए । त्यस्तै हाई अल्टिच्यूड स्पोर्टस् सेन्टर निर्माणका लागि बजेट विनियोजन गरिएको छ भने खेल पर्यटनमार्फत आर्थिक विकासको लक्ष्य पनि लिइएको छ ।

‘झापाको दमकमा अन्तर्राष्ट्रिय स्तरको मदन भण्डारी रंगशाला दुई वर्षभित्र सञ्चालनमा ल्याउने गरी निर्माण प्रारम्भ गरिने छ,’ उनले भने, ‘मोरङको वैदनाथपुर, काठमाडौंको मूलपानी, दाङको लमही, रूपन्देहीको भैरहवा, बाँकेको नेपालगञ्ज र कञ्चनपुरको महेन्द्रनगरमा क्रिकेट मैदान निर्माण सम्पन्न गर्न आवश्यक बजेट विनियोजन गरेको छु ।’

आगामी वर्ष पोखरा रंगशाला निर्माण सम्पन्न गरिने जानकरी दिँदै उनले भने, ‘सक्रिय खेल जीवनबाट निवृत खेलाडीलाई व्यवसाय सञ्चालन सहुलियत दरको कर्जा उपलब्ध गराउने व्यवस्था मिलाएको छु । धनगढी, विरेन्द्रनगर, नेपालगञ्ज, वीरगञ्ज, जनकपुरधाम र इटहरीमा प्रादेशिक रंगशाला निर्माण कार्य अगाडि बढाइने छ ।’

आगामी वर्ष सबै स्थानीय तहमा खेल पूर्वाधार निर्माण गरिने मन्त्री पौडेलले जानकारी दिए । आगामी आर्थिक वर्षमा १६८ स्थानीय तहमा खेलग्रामको निर्माण गर्न रकम छुट्याएको र सोलुखुम्बु, मनाङ मुस्ताङ र जुम्लामा हाइ अल्टिच्युड स्पोर्ट्स सेन्टर निर्माण गर्न आवश्यक रकम व्यवस्थासमेत गरिएको

उनले बताए । ‘आगामी आर्थिक वर्षमा नवौं राष्ट्रिय खेलकुद आयोजना गरिनेछ । अन्तर्राष्ट्रिय स्तरमा पदक हासिल गर्न सम्भाव्य खेल पहिचान गरी प्रोत्साहन गरिनेछ,’ उनले भने, ‘अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको सहभागिता वृद्धि गरिनेछ । नेपाललाई खेल पर्यटनको उत्कृष्ट गन्तव्यको रूपमा विकास गर्न अन्तर्राष्ट्रिय स्तरको खेल विद्यालयको सम्भाव्यता अध्ययन गरिने छ ।’ -ताजा खबर टिभि

प्रतिकृया दिनुहोस्