शनिबार , जेठ २९, २०७८

प्रशिक्षक अल्मुताइरीले भने–जोर्डनसँग हार्नुको कारण ।

जेठ २५, २०७८ मंगलबार 201

काठमाण्डौ : नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मु’ताइरीले हारको कारण पहिलो हाफमा जोर्डनलाई प्रदान गरिएको पेनल्टी रहेको बताएका छन् ।

फिफा विश्वकप २०२२ तथा एशियन कप २०२३ को छनौट अन्तर्गतको दोश्रो चरणको समूह बी को खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।

हारपछि प्रत्यक्ष पोष्ट म्याच कन्फरेन्समा प्रशिक्षक अल्मुताइरीले हारको मुख्य कारण पेनल्टी प्रदान गर्नु रहेको बताए । उक्त पेनल्टीमा जोर्डनले गोल गरेपछि उनीहरुको आत्मबल बढ्न पुगेको अल्मुताइरीको भनाइ छ ।

उनले भने,‘आजको खेलमा हामीले हार्याै र हार्नुको एक् मात्र मुख्य कारण २२ औं मिनटमा जोर्डनलाई पेन्लटी दिनु नै हो । त्यसपछि जोर्डनको आत्मबल निक्कै बढ्यो ।’

अल्मुताइरीले नेपाली फुटबल समर्थकहरुलाई खेलाडीमाथि कुनै दोष नथुपार्न आग्रह गर्दै हारको सम्पूर्ण जिम्मेवारी आफूले लिने आफ्नो फेसबुकमा उल्लेख गरेका छन् ।

कुवेतको जावेर एल अहमद अन्तराष्ट्रिय रंगशालामा सम्पन्न जारी खेलमा नेपाल जोर्डनसँग ३–० गोल अन्तरले पराजित भएको हो ।जोर्डनको जितमा बाहा फैजल सेफले दुई गोल गरे भने इब्राहिम मोहमद सामीले एक गाृल गरे ।

खेलको शुरुवाती मिनट बाट नै दबाबमा राखेको जोर्डनले खेलको २२औं मिनटमा पहिलो अग्रता लिएको थियो । राइट साइडबाट पेनिट्रेट गर्दै अघि बढीरहेका मौसा मोहम्मद सुलोमानलाई नेपालका डिफेन्डर रोहित चन्दले गोल एरियाभित्र फाउल गर्दा जोर्डनले पेनल्टीको अवसर प्राप्त गरेको थियो ।

उक्त पेनल्टीको अवसरलाई बाहाले गोलमा परिणत गर्दै जोर्डनलाई खेलको पहिलो हाफमा १–० गोल अन्तरको अग्रता दिलाएका थिए ।

यसपछि खेलको ४९औं मिनटमा नेपालका अनन्त तामाङ्गले यजान अब्दल्लाहमाथि गलत ट्याकल गर्दा रेफ्रिले जोर्डनलाई फ्रि किक प्रदान गरेका थिए । उक्त फ्रि किकको अवसरलाईलाई बाहाले नै सुन्दर गोलमा परिणत गरे ।

खेलको ६८औं मिनटमा इब्राहिम मोहमद सामीको पासमा यजान अलाराबले हेडर गोल गर्दै जोर्डनलाई खेलमा ३–० गोल अन्तरको जित दिलाए । नेपाल जोर्डनसँग यसै प्रतियोगिताको पहिलो खेलमा पनि ३–० गोल अन्तरले नै पराजित भएको थियो ।

जितसँगै जोर्डन प्रतियोगिताको समूह बी को दोश्रो स्थानमा उक्लिएको छ । उसले ६ खेलमा १३ अंक जोड्दै १० अंक भएको घरेलु टोलि कुवेतलाई तेश्रो स्थानमा धकेलेको छ ।

शिर्ष स्थानमा रहेको अष्ट्रेलियाको ५ खेलमा १५ अंक छ भने हारको सामना गरेको नेपालको ७ खेल पश्चात ६ अंक मात्र छ । समूहबो पुछारमा अंक विहिन चाइनिज ताइपेइ छ ।

खेल अवधिभर कप्तान किरण चेम्जोङ्गले जोर्डनको केही उत्कृष्ट प्रहारहरु बचाएपनि नेपाल समग्रमा निक्कै कमजोर रहेको थियो । नेपालले अब प्रतियोगिताको अन्तिम खेल शुक्रबार जुन ११ मा निक्कै बलियो अष्ट्रेलियासँग खेल्नेछ ।

यो हारसँगै नेपालको विश्वकप पुग्ने बाटो बन्द भएको छ भने अष्ट्रेलियासँग हुने अर्काे खेलमा जित निकाले एशियन कपको छनौटको तेश्रो चरण पुग्ने सम्भावना बाँकी नै छ ।

प्रतिकृया दिनुहोस्