बिहिबार , साउन २१, २०७८

नेपाली १९ रुपैयाँमा युरोपमा १५०० वर्गफुटका घर बेचिँदै !

असार २, २०७८ बुधबार 352

काठमाडौं : हामीकहाँ घर किन्नु पर्यो भने लाखौं मूल्य पर्छ । अझै काठमाडौं उपत्यका र ठूला सहरहरुमा त घरहरुको मुल्य करोडमा हिसाब गर्नुपर्छ ।

तर, मात्रै नेपाली १९ रुपैयाँमा घर, त्यो पनि युरोपमा । हामीलाई सुन्दा अचम्म लाग्छ । तर, पूर्वी युरोपेली देश क्रोएसियाको एक सहरमा १ क्रोएसियन कुना अर्थात नेपाली १९ रुपैयाँमा १५०० वर्गफुटमा फैलिएका घर बिक्री भइरहेका छन् ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टअनुसार क्रोएसियाको उत्तरी क्षेत्रमा लेग्राड नामको एउटा सहर छ । यो सहर ६२ वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ । यो सहरका जनसंख्या केवल २ हजार २५० छ । लेग्राडका मेयर इभान साबोलिकका अनुसार सहरमा यातायातको सुविधा नगन्य छ ।

यस्तोमा यो सहरको जनघनत्व कम नहोस् भनेर यहाँका घरलाई १ कुनाका बेच्ने निर्णय गरिएको हो । अहिलेसम्म यहाँका १७ घर बिक्री भइसकेका छन् ।

यो सहरमा घर किन्नेहरुलाई निश्चित सम्झौताको आधारमा मात्रै यी घर बेचिँदैछन् । सम्झौताअनुसार यी घर किन्ने व्यक्ति १५ वर्षसम्म त्यही सहरमा बस्नुपर्छ । इभानका अनुसार लेग्राडको सीमा छिमेकी देश हंगेरीसँग जोडिएको छ । सहरको चारैतिर जंगल छ ।

करिब १०० वर्ष पहिले एस्ट्रो र हंगेरियन साम्रज्य टुटेपछि यहाँको जनसंख्या कम भइरहेको छ । हालै मात्र यहाँका १९ परिवार यहाँको घर छाडेर राजधानी जाग्रेब गएर बसेका छन् ।
यहाँ भएका घर पुराना भइसकेका छन् तर यदि कसैले यी घर किन्न चाहेमा सरकारले मर्मत गरेर दिनेछ ।

यसका अलावा यहाँ नयाँ जीवन सुरु गर्नको लागि घर किन्ने व्यक्तिलाई ३५ हजार कुना (६ लाख ६४ हजार रुपैयाँ) पनि दिइनेछ । मेयर इभान साबोलिकका अनुसार यी घर सित्तैमा पाएजस्तै हो । यहाँ मानिसहरु त आउँछन् तर केही दिनपछि छोडेर जान्छन् त्यसैले घर किन्नेलाई १५ बर्ष बस्ने सम्झौता गराइएको हो ।-डिसि नेपाल

प्रतिकृया दिनुहोस्