२०७८ आश्विन ५ मंगलवार

एमालेमा पूर्व माओवादीहरुको हरिबिजोग- बागमती प्रदेश इन्चार्जबाट बादललाई हटाउने तयारी !

काठमाडौं : एमाले प्रवेश गरेका पूर्वमाओवादी नेताहरुको हरिबिजोग हुने भएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र मध्यमार्गी धारका नेताबिच १० बुँदे सहमति

कार्यान्वयन गर्ने सहमति भएपछि माओवादीबाट एमाले प्रवेश गरेर पदको लाभ लिएका नेताहरुको पार्टीले दिएको जिम्मेवारी खोसिने भएको छ । बालकोटमा सोमबार भएको मध्यमार्गी धारका नेतासँगको छलफलमा १० बुँदे सहमति कार्यान्वयन

गर्न ओली तयार भएका छन्। उक्त सहमति बमोजिम १० बुँदे सहमति कार्यान्वयन गर्न आज पार्टी स्थायी समितिको बैठक बोलाइएको छ। बैठकमा गत पुस ५ यता ओलीले बोलाएका बैठकमा सहभागी नभएका तथा वरिष्ठ नेता माधव नेपालले गठन गरेको नयाँ दलमा पनि नगएका स्थायी समिति

सदस्यहरू पनि सहभागी हुने बताइएको छ। बैठकले १० बुँदे सहमतिबमोजिम पार्टीलाई २०७५ जेठ २ अघिकै संरचनामा फर्काउने निर्णय गर्ने बुझिएको छ।

सोमबारको छलफलपछि एमाले सचिव योगेश भट्टराईले पार्टी स्थायी समिति बैठकले पार्टीलाई २०७५ जेठ २ को अवस्थामा फर्काएर अघि बढ्ने सहमति भएको बताएका थिए। ‘१० बुँदे कार्यान्वयन गर्ने मोडालिटीका लागि भोलि स्थायी कमिटी बैठक बस्छ।

१० बुँदेले भने अनुसार २०७५ जेठ २ कायम भएको छ। केन्द्रदेखि टोलसम्मका सबै कमिटी क्रियाशील हुन्छ,’ भट्टराईले भनेका थिए। यसैका लागि उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेल सम्मिलित समितिसमेत बनाइएको छ।

एमाले स्रोतका अनुसार आजको बैठकले एमाले २०७५ जेठ २ अघि जस्ता वा जो रहेका कमिटीहरू थिए, तिनलाई जस्ताको तस्तै स्वरूपमा फर्काउनेछ। सोहीअन्तर्गत एमालेका प्रदेश कमिटीहरू पनि पुरानै ब्यूँताइने स्रोतको दाबी छ।

जसअनुसार प्रदेश १ मा भीम आचार्य, प्रदेश २ मा सत्यनारायण मण्डल, बागमतीमा अष्टलक्ष्मी शाक्य, गण्डकीमा किरण गुरुङ, लुम्बिनीमा विष्णु पौडेल, कर्णालीमा युवराज ज्ञवाली र सुदूरपश्चिम प्रदेशमा भीम रावलले नै इन्चार्ज कायम हुनेछन्।

यसअघि प्रदेश कमिटीमा जिम्मेवारी हेरफेर गरिएको छ। प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश नम्बर २ मा रघुवीर महासेठ, बागमतीमा रामबहादुर थापा, गण्डकीमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णालीमा यामलाल कँडेल र सुदूरपश्चिम प्रदेशमा लेखराज भट्टलाई इन्चार्ज बनाइएको छ। तर आजबाट यी जिम्मेवारी हटाइने स्रोतको दाबी छ।-दैनिक न्युज नेपाल /तस्बिर:कान्तिपुर

२०७८ भाद्र ८, मंगलवार २३:४१ गते 1 Minute 181 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार