२०७८ कार्तिक १ सोमबार

मलेसिया छोडेर गाउँमै नर्सरी स्थापना गरेर बर्सेनि सात लाख आम्दानी !

काठमाडौ : चार वर्षसम्म वैदेशिक रोजगारीका लागि मलेसियामा बिताउनुभएका दोरम्बा गाउँपालिका १ मेघ्रेका राजन खड्का अहिले गाउँ फर्किएर आफ्नै जग्गामा नर्सरी स्थापना गरेर बर्सेनि लाखाैँ रुपैयाँ कमाउन सफल हुनुभएकाे छ ।

राजनले सात वर्षअघि रामेछापमा राेजगारी खोज्दै धेरै पटक सदरमुकाम लगायतका ठाउँ धाउनुभयाे । जिल्लामा रोजगारी नपाएपछि उहाँ रोजगारीकै लागि काठमाण्डाै लाग्नुभयाे । उहाँले काठमाण्डौमा पनि सोचेजस्तो काम पाउनुभएन ।

त्यसपछि राजनले धेरै पैसा कमाउने आश बाेकेर मलेसिया जाने निधो गर्नुभयाे । उहाँ आवश्यक कागजात तयार गरेर एजेन्टमार्फत तत्कालै मलेसिया जानु पनि भयाे । तर मलेसिया पुग्नुभएका राजनले त्यहाँ पनि सोचेजस्तो काम पाउनुभएन ।

जसाेतसाे गरेर उहाँले मलेसियामा चार वर्ष पसिना बगाउनुभयाे । त्यसपछि उहाँले नेपाल फर्कने र गाउँमै कृषि व्यवसाय सञ्चालन गर्ने निधो गर्नुभयाे । मलेसियामा कमाएको पैसा लिएर उहाँ नेपाल फर्किनुभयाे ।

मलेसियामा रहँदा उहाँलाई आफ्नाे देश, परिवार र जग्गाजमिन झलझल आँखामा आउँथ्यो । विदेशमा बस्दा गरेको दुःख र बगाएको पसिना सम्झेर राजनले नर्सरी स्थापना गर्नुभयाे ।

उहाँले अहिले किबी, जुनार, सुन्तला, कागती लगायतका बिरुवा उत्पादन गर्दै आउनुभएकाे छ । घरका सदस्यसँग रमाउँदै आफ्नै तीन रोपनी खेतमा नर्सरीबाट बर्सेनि चारदेखि सात लाख रुपैयाँसम्म कमाइ हुने गरेको उहाँले बताउनुभयाे ।

राजनले भन्नुभयाे, ‘धेरै कमाइ हुन्छ होला भनेर परिवार छाडेर अर्कैको देशमा गएँ । आखिर त्यहाँ पनि पैसा फल्ने बोट हुँदो रहेनछ । दुःख नै गर्नुपर्दा आफ्नै गाउँमा गर्छु भन्ने लागेर आफ्नै देश फर्किएँ ।’

उहाँलाई नर्सरीमा रहेका बिरुवा गोडमेल गर्ने, पानी हाल्ने लगायतका काममा उहाँकी श्रीमती तुलसीले पनि साथ दिँदै आउनुभएकाे छ । खड्का दम्पती दैनिक घरको काम सकेर बाँकी रहेको समय नर्सरीलाई दिँदै आएका छन् ।

नर्सरीमा उत्पादन भएका बिरुवा खरिद गर्न रामेछापका साथै सिन्धुली, काभ्रे, भक्तपुर लगायतका जिल्लाबाट किसानहरू गाउँमै आउने गरेको खड्का बताउँछन् ।

राजन भन्नुहुन्छ, ‘अहिले नर्सरीमा उत्पादन भएको बिरुवा माग धेरै भएको समयमा ¥याउनै सकिँदैन । कुनै वर्ष त्यति धेरै माग आउँदैन । नर्सरीमा बिरुवा ठूलो बनाएर राखेर बिक्री गर्नुपर्ने अवस्था आउने गर्छ । अहिले आफ्नै गाउँमै बसेर परिवारसँगै काम गर्न पाउँदा धेरै खुसी लागेको छ ।’

२०७८ भाद्र १२, शनिबार १७:३५ गते 0 Minutes 190 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार