२०७८ आश्विन २ शनिबार

महिला राष्ट्रिय फुटबल टिममा एउटै जिल्लाका ९ जना खेलाडी।

काठमाडौं : राष्ट्रिय टोलीमा एउटै जिल्लाका कति खेलाडी हुन सक्छन् ? धेरैले अनुमान लगाउँछन् बढीमा तीन अथवा चार । तर, नेपालको रौतहट एउटा यस्तो जिल्ला हो।

जहाँका नौ खेलाडीहरूले अहिले महिला राष्ट्रिय फुटबल टोलीबाट खेलिरहेका छन् । राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशमा भदौ २४ र २७ गत दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

त्यसका लागि नेपालका अस्टेलियन प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबारमात्रै २३ सदस्यीय टोली घोषणा गर्नुभएको छ । जसमा रौतहट जिल्लाका नौ खेलाडी पर्नुभएको हो । राष्ट्रिय टोलीमा पर्नुभएका पुनम जर्घामगर, रेनुका नगरकोटी, सविता

रानामगर, रजनी थोकर, रश्मी घिसिङ, अञ्जना रानामगर, मञ्जली योञ्जन, अनिता केसी र निशा थोकर रौतहट जिल्लाबाट हुनुहुन्छ ।

रौतहट जिल्ला फुटबल संघका अध्यक्ष भगवान् दर्लामीले आफ्नो जिल्लाबाट यति धेरै खेलाडीले एकैपटक राष्ट्रिय टोलीमा स्थान बनाउनु गौरवपूर्ण क्षण भएको बताउनुभयो । उहाँले टोलीमा पर्नुभएका सम्पूर्णलाई शुभकामना दिँदै जिल्लाको पहिचान अझै उचो बनाउन उत्कृष्ट प्रदर्शनको शुभकामना दिनुभयो ।

अग्लो कदकी निशाले पहिलोपटक रौतहटको प्रतिनिधित्व गर्दै राष्ट्रिय टोलीमा डेब्यु गर्न लाग्नुभएको हो । उहाँले घरेलु लिगमा विभागीय एपीएफ क्लबबाट खेल्नुभएको थियो । उहाँको उत्कृष्ट प्रदर्शनको मद्दतमा एपीएफले लिगको उपाधिसमेत जितेको थियो ।

यस्तै अर्की रौतहटकी खेलाडी स्ट्राइकर रजनी थोकर पनि पहिलोपटक राष्ट्रिय टोलीमा पर्नुभएको हो । उहाँ पहिलो प्रयासमै टोलीमा स्थान बनाउन सफल हुनुभएको हो । स्ट्राइकर रजनीले राष्ट्रिय महिला लिगमा रौतहटको चन्द्रपुर नगरपालिकाबाट खेल्नुभएको हो ।

उहाँले नेपालको उमेर समूहको प्रतिनिधित्व गरिसक्नुभएको छ ।
रश्मी घिसिङ पनि रौतहटबाट पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउने खेलाडी हुनुहुन्छ । उहाँ त्रिभुवन आर्मी फुटबल क्लबबाट खेल्ने गर्नुहुन्छ । गत लिगमा रश्मीले एक हृयाट्रिकसहित ६ गोल गर्नुभएको थियो ।

रश्मीले उमेर समूहमा नेपालको यू-१५, १६ र १९ टोलीबाट खेलिसक्नुभएको छ । यस्तै राष्ट्रिय लिगमा सविता राना मगरले चौदण्डीगढीविरुद्ध हृयाट्रिकसहित चार गोल गर्नुभएको थियो । सविताले पनि पहिलोपटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको हो ।

सविताले उमेर समूहमा नेपालको यू–१५, १६ र १९ टोलीबाट खेल्नुभएको थियो । घोषित खेलाडीहरूले बंगलादेशसँगै एएफसी महिला एसियाकप छनोट पनि खेल्नुहुनेछ । नेपाली टिमले छनोट खेलमा सेप्टेम्बर १८ मा फिलिपिन्सको सामना गर्नेछ । यस्तै २१ तारिखमा हङकङको सामना गर्नेछ ।

यसअघि समूह एफको खेल नेपालमा हुने भनिए पनि कोरोनाका कारण उज्वेकिस्तानमा सरेको छ । प्रत्येक समूहका विजेताले एसियाकप खेल्न पाउनेछन् । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले टिममा सात नयाँ खेलाडीलाई पनि स्थान दिनुभएको छ ।

जसमा एपीएफबाट राष्ट्रिय लिग खेलेकी प्रीति राईसहित निशा थोकर, स्ट्राइकर रजनी थोकर, रश्मी घिसिङ, सविता राना मगर, विमला विक र सिर्जनासिंह ठकुरी रहनुभएको छ ।
नेपाली टोलीको गोलरक्षकमा अञ्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ, डिफेन्डरमा अमृता जैसी,

विमल विक, गीता राई, हिराकुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घामगर, सिर्जनासिंह ठकुरी र विमला चौधरी, मिडफिल्डरमा अनिता बस्नेत, दीपा राई, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, रेनुका नगरकोटी, इन्दिरा राई, सविता राना र सरु लिम्बू र स्ट्राइकरमा अनिता केसी, रश्मी घिरिङ, रजनी थोकर हुनुहुन्छ ।

२०७८ भाद्र १३, आईतवार ०१:१८ गते 1 Minute 209 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार