
काठमाडौं: विश्वकप तथा एसियन कप छनोट खेल्न कुवेत गएको नेपाली राष्ट्रिय फुटबल टोली आइतबार राति स्वदेश फर्किएको छ।
नेपाली टोली कतार एयरवेजको उडानमार्फत गएराति पौने नौ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा) प्रवक्ता किरण राईले जनाकारी दिए। त्रिभुवन अन्तर्राष्ट्रिय
विमानस्थलमा नेपाली खेलाडीलाई अखिल नेपाल फुटबल एन्फाका पदाधिकारीले स्वागत गरेका थिए। इराकसँगको मैत्रीपूर्ण खेलमा ५-२ गोलले पराजित भएको नेपालले छनोटमा तीन मध्ये एक खेलमा जित र दुई खेलमा हार बेहोरेको थियो।
विश्वकप छनोटमा नेपालले चाइनिज ताइपेईलाई २-० ले पराजित गरेको थियो। नेपाल जोर्डनसँग ३-० र अस्ट्रेलियासँग पनि समान ३-० ले पराजित भएको थियो।
विश्वकप छनोट चरणबाट आउट भइसकेको नेपालले एसियन कपको छनोटका लागि प्लेअफ खेल्ने सम्भावना बाँकी छ। गत जेठ ११ गते खेलाडीसहित ३५ जनाको टोली इराक हुँदै कुवेत गएको थियो।
अब नेपालको यात्रा
नेपालले एएफसी एसियन कप २०२३ को छनोटको तेस्रो चरणमा प्रतिस्पर्धा गर्न प्लेअफ राउन्ड खेल्नु पर्ने भएको छ।
दोस्रो चरणको प्रतिस्पर्धामा समूह ‘बी’ रहेको नेपाल चौथो स्थानमा सीमित बन्दा प्लेअफ राउन्डमा धकेलिएको हो।
नेपाल रहेको समूहमा शीर्ष अस्ट्रेलियाले अन्तिम खेलअघि २१ अंक जोडेको छ। दोस्रो स्थानको जोर्डनको १३ र तेस्रो स्थानको कुवेतको १० अंक छ।
चौथो बनेको नेपालको ८ खेलबाट ६ अंक छ। पाँचौ स्थानको चाइनिज ताइपेईले अन्तिम खेलअघि कुनै अंक जोडेको छैन।
शीर्ष तीन टिमविरुद्ध जित हात पार्न नसक्दा नेपालले उत्कृष्ट चौथो हुने अवसर गुमाउँदै प्लेअफ राउन्डमा धकेलिएको हो।
प्लेअफ राउन्डमा दोस्रो चरणमा प्रतिस्पर्धा गरिरहेका आठ समूहका पाँचौ हुने ८ टिम र उत्कृष्ट चौथो टिमभित्र पर्न नसक्ने ४ टिम गरी १२ टिमबीच प्रतिस्पर्धा हुने तय थियो।
यद्यपी उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि अब प्लेअफ राउन्डमा ११ टिमबीच मात्र प्रतिस्पर्धा हुने भएको छ।
प्लेअफ राउन्डमा पनि दुई वटा चरण हुनेछ। पहिलो चरणमा १० टिमबीच एकआपसमा प्रतिस्पर्धा हुनेछ।
पहिलो राउन्डको विजेता सिधैं एसिया कपको तेस्रो चरणमा पुग्नेछन्। हार्ने टिमले दोस्रो राउन्डमा अवसर पाउनेछन्। दोस्रो राउन्डको विजेता पनि तेस्रो चरणमा पुग्नेछन्। हार्ने टिम भने बाहिरिनेछ।
प्लेअफको पहिलो राउन्डको पहिलो लेग २ सेप्टेम्बर र दोस्रो लेग ७ सेप्टेम्बरमा हुनेछ। दोस्रो राउन्ड ७ अक्टोबर र १२ अक्टोबरमा हुनेछ।
२४ टिमबीच हुने तेस्रो चरणमा ४-४ टिम सम्मिलित ६ समूहमा प्रतिस्पर्धा हुनेछ। समूहका उत्कृष्ट २-२ टिम गरी १२ टिम तेस्रो चरणको छनोटबाट एसियन कप २०२३ का लागि छनोट हुनेछन्।
नेपालले सन् २०२३ मा चीनमा हुने एसियन कपमा स्थान बनाउन अब प्लेअफ राउन्डबाट तेस्रो चरणमा स्थान बनाउनु पर्नेछ। तेस्रो चरणमा पुगेको अवस्थामा समूहमा शीर्ष दुईमा परेमा नेपाल पहिलो पटक एसियन कपमा छनोट हुनेछ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।