
एजेन्सी : चर्चित अमेरिकी अर्बपति बिल गेट्सले थप दुई अर्ब अमेरिकी डलर बढीको सेयर पूर्वपत्नी मेलिन्डा फ्रेन्च गेट्सलाई बिहीबार ट्रान्सफर गरेका छन्।
ब्लुमबर्गका अनुसार योसँगै बिलले मे महिनामा भएको सम्बन्धविच्छेदपछि कुल ६ अर्ब डलरको सेयर ट्रान्सफर गरेका हुन्। गेट्सको क्यास्केड इन्भेस्टमेन्टले अटोमोटिभ रिटेलर अटोनेसनको ३८ करोड ७० लाख डलर मूल्यबराबरको ३३
लाख कित्ता सेयर बिलकी पूर्वपत्नीलाई ट्रान्सफर गरेको छ। त्यस्तै माइक्रोसफ्टका सहसंस्थापक बिलले डिरी एन्ड कोको १ अर्ब डलर मूल्यबराबरको २८ लाख कित्ता सेयर पनि क्यास्केड इन्भेष्टमेन्टमार्फत मेलिन्डालाई ट्रान्सफर गरेका छन्।
सोही दिन क्यास्केड इन्भेष्टमेन्टले क्यानडेली नेशनल रेलवेको १ अर्ब डलर मूल्यबराबरको ९५ लाख कित्ता सेयर ट्रान्सफर गरेको छ। बिल र मेलिन्डाको सम्बन्धविच्छेद वैधानिक रुपमै गत हप्ता सम्पन्न भएको थियो।
मे महिनामा दुवैले सम्बन्धविच्छेद गर्ने घोषणा गरेको चार दिनपछि बिलले क्यास्केड इन्भेष्टमेन्टबाट ३ अर्ब डलर मूल्यबराबरको सेयर मेलिन्डालाई ट्रान्सफर गरेका थिए।
त्यसमा अटोनेसनको २९ लाख कित्ता, क्यानडेली नेशनल रेलवेको एक करोड ४१ लाख कित्ता र मिडिया कम्पनी
ग्रुप टेलिभिसाको २९ करोड ३५ लाख कित्ता सेयर समावेश थियो। दुई हप्तापछि बिलले डिरी एन्ड कोको ८५ करोड डलर मूल्यबराबरको सेयर मेलिन्डालाई ट्रान्सफर गरेको नियामक निकायमा पेस भएको कागजातले देखाएको छ।
यो भनेको कम्पनीमा रहेको बिलको कुल सेयर स्वामित्वको ७ प्रतिशत हो। बिल र मेलिन्डाको कुल सम्पत्ति एक खर्ब ५२ अर्ब अमेरिकी डलर रहेको ब्लुमबर्गको अर्बपति सूचकांकले देखाएको छ। गत बुधबार बिलले पूर्वपत्नीसँग अझै सहकार्य गर्ने बताएका थिए।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।