२०७९ असार १८ शनिबार

मुख्यमन्त्री शेरधन राईको कुर्सि धरापमा !

काठमाडौँ : नेकपा एमाले विभाजन भएर नेकपा एमाले (समाजवादी) दर्ता भएसँगै त्यसको प्रत्यक्ष असर प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई पर्ने देखिएको छ ।एमाले विभाजनले निर्वाचन आयोगबाट वैधता पाएको अवस्थामा मुख्यमन्त्री शेरधन राई स्पष्ट अल्पमतमा पर्ने छन् ।

माधवकुमार नेपाल पक्षको राम्रो पकड रहेको प्रदेश १ मा एमाले विभाजनसँगै मुख्यमन्त्री राई नेतृत्वको सरकारको विकल्प खोज्ने प्रक्रिया थालिने विपक्षी गठबन्धनका नेताहरु बताउँछन् ।९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा नेकपा एमालेका ५१ सदस्य छन्, जसमध्ये १९ जना माधवकुमार नेपाल समूहमा थिए ।

तर भीम आचार्य र जीवन घिमिरेसहित केही सांसदले नेपाल समूह छाडेका छन् । तर अझै प्रदेशसभाका १५ जना प्रदेशसभा सदस्य आफूहरुसँग रहेको नेताहरु बताउँछन् ।योसँगै एमालेमा अब ३६ सांसदमात्र सीमित रहनेछन् । एमालेलाई बहुमतका लागि थप ११ सांसद आवश्यक हुने देखिन्छ ।

विद्यमान समीकरणमा एमालेलाई बहुमतको अंक गणित जुटाउन निकै कठिन देखिन्छ । एमालेको विपक्षमा सबै दलहरु एक रहेको कारण उनले त्यो मौका पाउने छैनन ।नेकपा एमाले विभाजित भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा एमाले समाजवादी पार्टीमा प्रदेश १ का प्रदेशसभा सदस्यहरू लछुमन तिवारी,

जीवन घिमिरे, लीलाबल्लभ अधिकारी, खिनु लङ्वा लिम्बू, उपेन्द्रप्रसाद घिमिरे, सरिता थापा, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, गणेशकुमार काम्बाङ, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, राजन राई, बलबहादुर साम्सोहाङ, यशोदा अधिकारी र कृष्णकुमारी राई सामेल छन् ।

एमाले विभाजनपछि प्रदेश सभामा एमालेका ३६, काँग्रेसका २१, माओवादी केन्द्रका उपसभामुखसहित १५, नवगठित एमाले समाजवादीका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चको १÷१ जना सांसद छन् ।नयाँ सरकार बनाउनका लागि काँग्रेस,

एमाले समाजवादी, माओवादी केन्द्र, समाजवादी पार्टीको जोड्दा ५४ सांसद पुग्छन् । यसकारण यही गठबन्धनबाट नयाँ मुख्यमन्त्री बन्ने सम्भावना बढेको छ ।हालसम्म एमालेको तर्फबाट भीम आचार्य मुख्यमन्त्रीका दाबेदार थिए । त्यसको लागि उनले केही समयदेखि लविङ्ग गर्दै पनि आइरहेका छन् ।

तर उनी अहिले माधव कुमार नेपाललाई छाडेका छन् ।हिजो दर्ता भएको नयाँ दलमा उनी समावेश नहुने घोषणा गरिसकेको अवस्थामा उनलाई मुख्यमन्त्री बन्ने बाटो पनि स्वत बन्द हुने भएको छ ।नेपालपक्षका नेता भन्छन्, हामीसामू आउनुभयो भने मुख्यमन्त्री उहाँ नै हो, त्यसमा कुनै शंका छैन ।

तर आउनुहुन्न भने त्यसको विकल्प हामी खोज्छौँ ।आचार्यले साथ छाडेपछि प्रस्तावित एमाले समाजवादीले राजेन्द्र राईलाई मुख्यमन्त्रीका रूपमा प्रस्ताव गर्ने तयारी गरेको छ । जहाँसम्म उनको प्रवल सम्भावना रहेको बताइएको छ ।थोरै सिट भएपनि गठबन्धनका लागि निर्णायक हुने भएकाले मुख्यमन्त्री पाउने उनीहरूको विश्वास छ ।

कांग्रेसले पनि आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गरिरहेको छ । कांग्रेस संसदीय दलका नेता राजीव कोइराला मुख्यमन्त्रीका आकांक्षी छन् ।माओवादीले भने सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा मुख्यमन्त्री पाइसकेको हुनाले यहाँ दाबी गर्ने स्थिती छैन । मुख्यमन्त्रीमा नेपाल पक्षका राई नै बन्ने सम्भावना रहेको स्रोतको भनाई छ ।

२०७८ भाद्र ३, बिहीबार २२:५२ गते 0 Minutes 701 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।