२०७९ आश्विन १२ बुधबार

खुशीको खबर ! कतार प्रहरी रोजगारको बाटो खुल्यो !

काठमाडौं : नेपालीहरू वैधानिक तरिकाले कतार प्रहरीमा भर्ना हुने प्रक्रियाले छिट्टै गति लिने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गतहप्ता कतारको दोहास्थित

नेपाली दूतावासलाई नेपाल र कतारबीच सन् २००५ मा भएको श्रम सझौताको परिधिभित्र रहेर कतार प्रहरीका लागि मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएको छ । कतार प्रहरीमा कोरिया र इजरायलमा जस्तै सरकारी स्तरबाट पठाउने चर्चा यसअघि नचलेको होइन ।

तर सन् २००५ को नेपाल र कतारबीचको द्विपक्षीय श्रम सम्झौतामा नेपाली नागरिकलाई नेपालका निजी क्षेत्रबाट पठाउने उल्लेख छ । यसले कतार प्रहरीमा पठाउने काममा निजी क्षेत्रका म्यानपावर कम्पनीहरुले जिम्मा पाउने देखिएको छ । कुन कुन म्यानपावर कम्पनी यस प्रक्रियामा सहभागी हुने छन् भन्ने विषय स्पष्ट भई नसकेको मन्त्रालय श्रोतले मध्यान्हलाई बतायो ।

कतारले एक वर्षअघि नै करिब १० हजार नेपालीलाई कतार प्रहरीमा भर्ना गर्न चाहेको थियो । तर नेपालबाट प्रष्ट निर्देशन नजाँदा त्यो विषय अन्योलमा मात्र होउयइन नेपाललाई प्राप्त हुन लागेको बैदेशिक रोजगारीको त्यो आकर्षक अवसर नै गुम्ने हो कि भन्ने अवस्था रहेको थियो ।

तर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको मन्त्रीस्तरीय निर्णयबाट सन् २००५ को नेपाल–कतारबीचको श्रम सम्झौताको मापदण्डभित्र रहेर मागपत्र प्रमाणीकरण गर्न अनुमति दिएपछि अहिले कतार प्रहरीमा नेपाली पठाउने विषय निर्णायक मोड लिएको हो ।

सरकारको अनुमति बिना यसअघि गत फागुनमा केही म्यानपावर कम्पनीहरुले ठूलो रकम उठाएर कामदार छनोट गर्न अन्तर्वार्ता गरेको भन्ने विषय सार्वजनिक भएपछि वैदेशिक रोजगार विभागले केही म्यानपावर कम्पनीमा छापा मारी कारबाही गरेको थियो ।

विभागले छनोट प्रक्रियामा कसैले रकम उठाएको भए उजुरी दिन पटक–पटक आग्रह गरेपनि उजुरी भने पर्न सकेको थिएन । शुरुमा कतारको आन्तरिक मन्त्रालयले दोहास्थित नेपाली दूतावासमा दुई सय जनाको मागपत्र पेश गरेको तर पछि नेपालले अलमल गरेपछि त्यो प्रक्रिया त्यत्तिकै रहेको श्रोतले बतायो ।

कतारको अन्य क्षेत्रमा दुई वर्षको करार अन्तर्गत नेपाली कामदार जाने गरेका छन् । तर कतारले आफ्नो प्रहरीको सहयोगका लागि लैजान नेपालीलाई शुरुमा करारका माध्यमबाट तीन वर्षका लागि भर्ना गर्ने र पछि कार्य दक्षताका आधारमा करार अवधि बढाउन खोजेको बताइएको छ ।

कतार प्रहरी भनेपनि नेपालीले कतारको कोर पुलिस फोर्सको जिम्मेवारीमा काम नगरी सहायक फोर्समा काम गर्ने बताएइको छ । उनीहरुले हतियार बोक्नु पर्ने छैन । उचाई ५ फिट ७ इन्च र उमेर १८ देखि ३५ वर्ष समूहका नेपाली पुरुष कतार प्रहरीमा भर्ना हुन सक्ने छन् । रेशमराज पौडेलले मध्यान्ह दैनिकमा यो समाचार लेखेका छन् ।

२०७८ भाद्र १५, मंगलवार ११:४० गते 0 Minutes 313 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।