२०७९ आश्विन १५ शनिबार

१९६ बालबालिकाको जीवन परिवर्तन गरेको मामाघर नेपाल: सडकमा सुत्थे हक्कीका नेपाली कप्तान राजु !

मकवानपुर : मकवानपुरको सिस्नेरी घर भएका राजुका बुबा आमाले अन्तरजातीय विवाह गरेका कारण सिस्नेरी छोडेर हेटौंडा बसाई आउनु परेको थियो ।

केही समयपछि उनको बुबाको निधन भयो । बुबाको निधनपछि आमाले अर्कै विवाह गरिन् । आमाले अर्कै विवाह गरेर गएपछि यी वालक सडकमा पुगे । उनलाई उपप्रध्यापक अर्पण पराजुलीले हेटौडामा स्थापना गरेको सामाजिक संस्था मामाघर नेपालले सडकबाट वालकलाई उद्धार गरेको थियो ।

मामा घरले संरक्षण गरेर हुर्काएको र अहिले पनि सोही संस्थाको संरक्षणमा रहेका राजु अहिले नेपालको चर्चित हक्की खेलाडी हुन् । हक्की प्रशिक्षक मनोज शर्माले उनलाई प्रशिक्षित गरेका हुन् । अहिलेसम्म राजुले दर्जनौ खेलहरु खेलिसकेका छन् । उनी हक्कीको विश्व कपका लागि विदेश जाने तयारीमा थिए ।

बढ्दो कोरोना संक्रमणका कारण ती सबै खेलहरु अहिलेसम्म स्थगित छन् । अब विस्तारै कोरोना संक्रमण घट्दै गएर सबै अनुकुल हुन थालेपछि भान्जालाई यहाँ भेट्न पाइदैन,’ मामाघर नेपालका संस्थापक पराजुलीले खुसी हुँदै भने ।

मामा घर नेपाल, उपप्रध्यापक अर्पण पराजुलीले हेटौडामा स्थापना गरेको सामाजिक संस्था हो । २०५८ साल कात्तिक २७ गते उनले यो संस्था स्थापना गरेका थिए । सडक वालवालिकाको अध्ययनका लागि ३ महिना सडकमै बसेपछि र सडक वालकहरुको दर्दनाक दृश्य देखेर/भोगेपछि पराजुलीको मनले मानेन ।

त्यसपछि उनले सडकमा बस्ने वालवालिकाहरुको उद्धार कार्यका लागि एक परोपकारी संस्थाको रुपमा मामा घर नेपाल स्थापना गरे । पराजुली जतिबेला सडक वालवालिकाको अवस्था बुझ्न ३ महिना सडकमै बसे त्यतिबेला सडक वालवालिकाहरुले उनलाई ‘मामा’ भनेर बोलाए । मामा भनेर वालवालिकाले सम्बोधन गर्न थालेपछि उनले यो संस्थाको नाम पनि ‘मामाघर’ राखे ।

अहिलेसम्म मामा घर नेपालले १९६ जना वालवालिकाको सडकबाट उद्धार गरिसकेको छ । १३६ जना वालवालिका परिवारमा पुर्नस्थापित भइसकेका छन् भने बाँकी २३ जना वालक(भान्जाहरु) मामा घर नेपालको संरक्षणमा छन् ।संस्था स्थापनाको सुरुवातमा यसको घरभाडा हेटौंडा नगरपालिकाको कार्यालयले व्यहोरिदिन्थ्यो ।

सुरुवातदेखि २०७६ सम्म नगरपालिकाले संस्था बसेको घरभाडा तिरिदिएको थियो । व्यक्तिहरुको जन्म दिन, विवाह भएको वार्षिक उत्सव, सङ्घसंस्थाको स्थापना दिवशको अवसर पारेर मामा घर नेपालमा विभिन्न कार्यक्रमहरु गर्ने, मामा घरलाई आवश्यक खाद्यन्न सहयोग दिने र आर्थिक सहयोग गर्ने दाताहरुको कारण अहिलेसम्म मामा घर नेपाल सञ्चालन भइरहेको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा नेपाल सरकारले ५० हजार राशीको राष्ट्रिय युवा प्रतिभा पुरस्कार समेत प्राप्त गरेका पराजुलीले मामा घर नेपाललाई अहोरात्र अघि बढाउन प्रयन्त जारी राखे । मामा घरमा संरक्षणमा रहेका वालवालिकाको शिक्षादीक्षाको उनलाई ठूलो पिरलो थियो ।

वालवालिकालाई उचित शिक्षा दिन उपयुक्त स्थानको खोजी गर्दै जाँदा हेटौंडामा रहेको भुटनदेवी माद्यमिक विद्यालयले उनीसित सहकार्य गर्यो । उनले सो संस्थामा उद्धार गरेर ल्याएका वालवालिकालाई भुटनदेवी स्कूलमा भर्ना गरेर पढाउन थाले । यसपालिको एसईईमा मामा घरकै संरक्षणमा रहेका भान्जा अजय दाहालले ४ जीपीए ल्याएर प्रथम भए ।

अध्ययनका लागि उचित व्यवस्थापन मिलेपछि उनले वालवालिकालाई शारीरीक व्यायामको जाँचोपाँचो कसरी मिलाउने भन्ने चिन्ताले पिरल्यो । त्यसपछि उनले संस्थामा रहेका अन्य साथीहरुसँग पनि सरसल्लाह गरे । वालवालिकालाई एक्स्ट्रा केही गर्न पर्छ भन्ने भएपछि कसले सहयोग गरिदेला भनेर खोजी सुरु भयो ।

मामा घरको यो अभियानमा साथ दिन तयार भयो, मकवानपुर कलिउड कला केन्द्र । कलाकेन्द्रले मामा घरको संरक्षणमा रहेका वालवालिकालाई नृत्य सिकाउने जिम्मेवारी लियो ।त्यसपछि संस्था सञ्चालक पराजुलीलाई वालवालिकाको स्वास्थ्य परिक्षणको लागि आवश्यक व्यवस्था मिलाउनु थियो ।

उनले हेटौंडा मेडिसिन पोलिक्लिनिकलाई अनुरोध गरे, पोलिक्लिनिक पनि मामा घरका भान्जाभान्जीहरुको स्वास्थ्य उपचार गर्न तयार भयो निशुल्क ।त्यसपछि हामी निकै खुसी भयौँ, पराजुलीले भने – सबैको साथ नपाएको भए यो महान् काम अघि बढ्न सक्दैनथ्यो ।

त्यसैगरी हेटौंडा फुटवल एकेडेमीले संरक्षित वालकहरुलाई निशुल्क तालिमको व्यवस्था मिलाएको छ ।मकवानपुरका दर्जनौ सामाजिक सङ्घ संस्था र सरकारी निकायहरुले मामा घर नेपाललाई सम्मान गरेका छन् ।हेटौंडाका व्यवसायी सिद्धिलाल श्रेष्ठले गरेको सहयोग यो संस्थाको निम्ति महत्वपूर्ण टर्निङप्वाइन्ट भयो ।

हेटौंडा– ११ थानाभर्याङमा उनै श्रेष्ठले मामा घर नेपाललाई ३ कठ्ठा २ धुर जग्गा दानमा दिए । त्यसपछि मामा घरले ‘एक व्यक्ति एक इट्टा’ अभियान चलायो । जसले जति सक्छ त्यति नै सहयोग गरे ।जसको परिणाम स्वरुप अहिले मामा घरको २१ वटा कोठासहितको आधुनिक सुविधा सम्पन्न भवन बन्यो ।

२०७८ भाद्र २६, शनिबार १०:१३ गते 0 Minutes 230 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।