२०७९ आश्विन २० बिहीबार

सरकारी ढिलासुस्तीले गर्दा कतार प्रहरीमा नेपालीहरू भर्ना हुन पाएनन् !

काठमाडौँ : सरकारले समयमा नै निर्णय गर्न नसक्दा नेपाली नागरिकहरूले कतार प्रहरीमा भर्ना हुन नपाउने निश्चित भएको कतारस्थित नेपाली राजदूतले बताएका छन् ।

कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजका अनुसार यस वर्षका लागि निर्णय प्रक्रियामै ढिलाइ भएकाले नेपाली युवाहरु इच्छुक भएर पनि कतार प्रहरीमा जान नपाउने भएका हुन् ।

करिब ६ महिनाअघि नै कतारको आन्तरिक मन्त्रालयले २०० जना नेपालीलाई प्रहरीमा भर्ना गर्नका निम्ति नेपाली दूतावासलाई पत्र पठाएको थियो । तर यसका लागि कानुनी जटिलता देखिएपछि भर्ना प्रक्रिया अघि बढ्न सकेन । नेपाल र कतारबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो ।

जसमा सैन्य सेवामा काम गर्ने कामदारबारे केही उल्लेख नभएकाले अहिले आएर दूतावासले त्यसबारे समयमै निर्णय दिन नसकेको हो । राजदूत भारद्वाजका अनुसार यसबारे निर्णय दिन भनी दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई पत्राचार गरेको थियो ।

तर मन्त्रालयले समेत समयमै ठोस निर्णय दिन नसक्नु र सरकार परिवर्तनको खेल हुनुले यसमा ढिलासुस्ती भएको उनको भनाइ छ । दुवै देशका सरकारबीच सम्झौता गरेर मात्र कतार प्रहरीमा नेपालीलाई पठाउने बारे छलफल चले पनि त्यो सफल भएन ।

त्यसपछि सन् २००५ कै सम्झौतामा टेकेर नेपालीलाई निजी क्षेत्रबाट पठाउन दिने निर्णय गरेको भन्दै गत असार पहिलो साता मन्त्रालयले दूतावासलाई पत्र लेखेको थियो । तर दूतावासले अन्योल कायम रहेको भन्दै कामदारको मागलाई प्रमाणीकरण गरेन ।

मन्त्रालयबाटै नीतिगत निर्णय हुनुपर्ने बताउँदै दूतावास पन्छिएपछि यो प्रक्रिया अन्यौलमा परेको हो । तर यसपालि छुटे पनि अर्को वर्षबाट भने नेपालीहरु कतार प्रहरीमा जान पाउने राजदूत भारद्वाजको भनाइ छ । वैदेशिक रोजगार सम्बद्ध व्यवसायीहरुले भने ‘सरकारी कमजोरी’का कारण नेपाली युवाहरुले एउटा राम्रो अवसर गुमाएको बताइरहेका छन् ।

२०७८ आश्विन २, शनिबार १३:१४ गते 0 Minutes 204 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।